तनहुँ । नेपाल सरकारको निजामति सेवामा आदिवासी जनजाति समुदायको उपस्थिति धेरै नै कमजोर छ । त्यसमा पनि हामी तमू समुदायको उपस्थिति त झनै न्युन छ । हेर्ने नै हो भने आज पनि निजामति सेवाको उच्च तहमा पुग्ने तमू समुदायको व्यक्तिहरू औंलामा गन्न सकिने अवस्थामा छ ।
लाहुरे हुने संस्कृतिको प्रभावकै कारणले निजामति सेवामा तमू समुदायको उपस्थिति कमजोर देखिएको हो । तै पनि पछिल्लो समयमा निजामति सेवामा प्रवेश गर्ने र उच्च तहमा सफल हुँदै जाने तमूहरू बढ्दै जान थालेका छन् । त्यसैमध्येका एक उदाहरण हुनुहुन्छ, हाल कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह तमू । उहाँ हालैमात्र सह–सचिवमा सिफारिश हुनु भएको छ ।
साविक तनहुँको क्यामिनकोट थोक (हाल व्यास– ८ तनहुँ)मा वि.सं. २०३४ सालमा बुबा पूर्व भारतीय सेना नायब सुवेदार विसनसिंह तमू र आमा मनकुमारी तमुस्योका चार छोरी र दुई छोरामध्ये जेठो छोरोको रूपमा कुमानसिंह तमूको जन्म भएको हो ।
सानैदेखि अध्ययनमा रुचि राख्नुहुने कुमानसिंहले माध्यमिक शिक्षा गाउँकै क्यामिनकोट माविबाट पूरा गर्नुभएको हो । समाजशास्त्र, राजनीतिशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तहका साथै कानुन र शिक्षा शास्त्रमा स्नातक तह उत्तीर्ण गर्नुभएका उहाँले प्रविणता प्रमाणपत्र तहदेखि मास्टर्ससम्म पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्नुभएको थियो । अन्य अध्ययन भने काठमाडौंबाट गर्नुभएको हो ।
वि.सं. २०७० सालमा शाखा अधिकृतमा नाम निकालेर निजामति सेवामा प्रवेश गर्नुभएका उहाँको जागिरे यात्रामा धेरैजसो अवधि स्थानीय तहमै बितेको छ । वि.सं. २०७२ सालमा आफ्नै गृहजिल्ला तनहुँको बन्दिपुर नगरपालिकाको कार्यकारी अधिकृत रहनुभएका उहाँ त्यसपछि पर्वतको कुश्मा नगरपालिकाको कार्यकारी अधिकृत रहनुभयो । देशमा संघीयता लागू भएसँगै पर्वतको मोदी गाउँपालिका र कास्कीको माछापुच्छ्र«े गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहनुभएका कुमानसिंह वि.सं. २०७७ मा उपसचिव बन्न सफल हुनुभएको थियो । उपसचिव बन्नुभएको करिब २ वर्ष पछि हालै मात्र उहाँले लोकसेवा आयोगले लिएको आन्तरिक प्रतिस्पर्धामा सामान्य प्रशासन समूहतर्फ सह–सचिवमा नाम निकाल्न सफल हुनुभएको हो ।
निजामति सेवामा उहाँको रोजाइ सधैँ स्थानीय तह भए । आफूले सेवा गर्नका लागि स्थानीय तह रोज्नुको कारण संघीयता कार्यान्वयनको तल्लो तह भएको र स्थानीय तहमा काम गर्दा जनतासँग जहिले पनि नजिक भएर काम गर्न सकिने भएकाले स्थानीय तह रोजेको उहाँले बताउनु भयो । स्थानीय तहको योजना, नीति, कानुन बनाउने कुरामा अधिकतम सहयोग पुर्याउन सकिने भएकाले पनि आफूले सेवाका लागि स्थानीय तह नै रोजेको उहाँको भनाइ छ ।
यस्तै आफू निजामति सेवामा प्रवेशका लागि आकर्षित हुनुमा निजामति सेवामा देश र जनताको हितमा काम गर्न सकिने साथै उच्च तहमा पुग्न सके नीति निर्माणमा समेत सहयोग गर्न सकिने लगायतका कारणहरू रहेको उहाँले बताउनुभयो । ‘यति मात्र नभई हाम्रो समुदायबाट निजामति सेवामा प्रवेश गर्नेहरू कम भएकाले पनि मलाई प्रेरित ग¥यो,’ उहाँले भन्नुभयो ।
निजामति सेवामा प्रवेश गर्दा जनतालाई सेवा दिन पनि पाइने आफूलाई रोजगारी पनि हुने भएकाले समेत यसतर्फ आफू आकर्षित भएको उहाँको भनाइ छ । तहगत रूपमा आयोगको आन्तरिक श्रृङ्खलाबद्ध प्रतिस्पर्धाबाट बढुवा हुन पाउने व्यवस्थाका साथै विभिन्न क्षेत्रमा रहेर काम गर्न पाउने अवस्थाले थप आकर्षण बढाएको उहाँले बताउनुभयो ।