केशव तमू, गोरखा । आरोहीको गाउँ भनेर चिनिने गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकका पुरबहादुर तमु (युक्त) ले एकै सिजनमा आठ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल आरोहण गरेका छन् । तीन महिनाको अवधिमा उनले आठ हजार मिटरभन्दा अग्ला पाँचवटा शिखर चुमेका हुन् ।
उनले वैशाख २(अप्रिल १५)गते अन्नपूर्ण हिमाल(८,०९१ मि.), जेठ २(मे १६) गते सगरमाथा हिमाल (८,८४८ मि.) र जेठ ३ (मे १७) गते लोत्से हिमाल (८,५१६ मि.) को आरोहण गरेका हुन् । त्यस्तै, जेठ ९ (मे २३) मकालु हिमाल (८,४८१ मि.) र जेठ १८(जुन १) गते कञ्चनजङ्गा हिमाल (८,५८६ मि.) को आरोहण गर्न सफल भएका उनले बताए ।
सगरमाथामा यसअघि पनि पटक पटक आरोहण गरिसकेको भएता पनि आठ हजार मिटर अग्ला अन्य चार वटा हिमाल भने पहिलो पटक चढेको उनले बताए । यो सिजनमा मौसमको चुनौतीका बाबजुत पनि आठ हजार मिटरका पाँच वटा हिमाल आरोहण गर्न सफल भएको उनले जानकारी दिए ।
उनका अनुसार यो वर्ष आठ हजार मिटर अग्ला ६ वटा हिमाल आरोहणको तयारीमा थिए । तर माउन्ट्रेरिङ तालिमका भएका कारण धौलागिरी हिमाल आरोहणमा अन्तिममा आएर स्थगित गरिएको तमुले बताए । सगरमाथाको तुलनामा चार वटा नयाँ हिमाल चढ्नका लागि भने कठिनाइ भएको उनको भनाइ छ ।
अमेरिका लगायतका विदेशी पर्यटकलाई हिमाल आरोहण गराइदिने क्रममा इलिट एक्सपेड कम्पनीमार्फत पथप्रदर्शकका रुपमा गुरुङ एकै सिजनमा पाँच वटा हिमाल आरोहण गर्न सफल भएको हो । काठमाडौमा माउन्टेनेरिङ तालिम सके पछि आगामी जुलाईमा पाकिस्तानमा रहेको आठ हजार मिटरको चार वटा हिमाल आरोहणको तयारीमा रहेको समेत उनले बताए ।
उनले विश्वकै सवौच्च शिखर सगरमाथा भने सातौ पटक आरोहण गरिसकेको छन् । तमु समुदायबाट उनी हाल सम्म सबै भन्दा बढी सगरमाथा आरोहण गर्ने व्यक्ति हुन् । यसअघि सन् २०११ मा २२ बर्षको उमेरमा उनले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । यसबर्ष २४ घण्टाको अन्तरालमा आठहजार भन्दा अग्ला सगरमाथा र ल्होत्से हिमाल आरोहण गरेका छन् ।
यसअघि उनले आठहजार मिटरभन्दा अग्ला छ वटा हिमाल आरोहण गरिसकेका छन् । गोरखास्थित ८,१६३ मिटर अग्लो मनास्लु चारपटक आरोहण गरिसकेका छन् । त्यस्तै अन्नपूर्ण प्रथम, पाकिस्तानस्थित माउण्ड केटु र ब्रोडपिक आरोहण गरेका हुन् । १७ बर्षको उमेरदेखि पर्वतारोहण क्षेत्रमा लागेका उनी भविष्य पनि पर्वतारोहण कर्ममै बिताउने लक्ष्य छ ।