तमू फिल्म एसोसियशन (जिफान)ले पोखरामा किन्यो घडेरी, भवन पनि यही वर्षभित्र बन्ने

तमू फिल्म एसोसियशन (जिफान)ले पोखरामा किन्यो घडेरी, भवन पनि यही वर्षभित्र बन्ने

छ्याजालो न्युज

२५, जेठ २०८१
तमू फिल्म एसोसियशन (जिफान)ले पोखरामा किन्यो घडेरी, भवन पनि यही वर्षभित्र बन्ने

काठमाडौं । गुरुङ फिल्म एशोसिएशन नेपाल जिफानले भवन निर्माणका लागि जग्गा खरिद गरेको छ । पोखरा उपमहानगरपालिका वडा नम्बर १४ को चाउथे रातो डाँडा भन्ने स्थानमा जिफानले ६ आना २ दाम जग्गा खरिद गरेको हो । 

कुल ५० लाख रुपैयाँमा जग्गा खरिद गरिएको जिफानका कोषाध्यक्ष एवम् जग्गा खरिद तथा भवन निर्माण समितिका संयोजक अर्जुन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गा खरिदबापतको रकम अन्तर्गत हाल २० लाख रुपैयाँ चुक्ता गरिसकिएको छ भने बाँकी रकम ३ महिना भित्र चुक्ता गर्ने सहमति भएको छ । 

विक्रम सम्वत २०७९ साल मंसिर २४ गते महासचिव लबसम गुरुङको संयोजकत्वमा सम्पन्न जिफान साँझबाट संकलित रकम र स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट प्राप्त आर्थिक सहयोगबाट बाँकी रकम चुक्ता गर्ने जिफानले लक्ष्य लिएको छ ।

WhatsApp Image 2024-06-06 at 7.31.58 PM.jpeg

जग्गा खरिद गर्ने पहिलो चरणको कामसँगै भवन निर्माणको योजना पनि जोडिएर आएको जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङले बताउनु भयो । हालका लागि तीनकोठे अस्थायी संरचना निर्माण गर्ने र यही वर्षभित्र पक्की भवन निर्माण सम्पन्न गर्ने उहाँले बताउनु भयो । भवन निर्माणका लागि युके, जापान, अष्ट्रेलिया, हङकङ, अमेरिकालगायतका विभिन्न मुलुकमा रहेका केही दाताहरुले आर्थिक सहयोगको बचन दिइसक्नु भएको उहाँले जानकारी दिनु भयो । 

जिफानको आफ्नै आन्तरिक श्रोत र स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट प्राप्त आर्थिक सहयोगबाट भवन निर्माण सम्पन्न गर्ने जिफानको लक्ष्य रहेको अध्यक्ष गुरुङले बताउनु भयो । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमू अर्थात गुरुङ चलचित्रकर्मीहरुको साझा संगठनको रुपमा स्थापित गुरुङ फिल्म एशोसिएशन नेपाल जिफान २०६५ सालमा विधिवत रुपमा दर्ता भइ स्थापना भएको हो । 

गुरुङ भाषा, संस्कार र संस्कृतिमा आधारित चलचित्रहरु निर्माण गर्ने गतिविधिहरु भने विक्रम सम्वत २०५२ सालदेखि नै सुरु भएको हो । जिफानमा आवद्ध गुरुङ चलचित्रकर्मीहरुले हालसम्म १९० भन्दा बढी गुरुङ चलचित्रहरु निर्माण गरिसकेका छन । 

 

प्रकाशित मिति :जेठ २५, २०८१ शुक्रवार - ०९:४०:४२ बजे
images

छ्याजालो न्युज

ताजा अपडेट
धेरै पढिएको