काठमाण्डौको बागबजार स्थित गुरुङ टोलमा दिल–रत्न गुरुङ मार्गको उद्घाटन

काठमाण्डौको बागबजार स्थित गुरुङ टोलमा दिल–रत्न गुरुङ मार्गको उद्घाटन

छ्याजालो न्युज

४, श्रावण २०८३
काठमाण्डौको बागबजार स्थित गुरुङ टोलमा दिल–रत्न गुरुङ मार्गको उद्घाटन

काठमाडौं । पूर्वप्रशासक स्वर्गीय रत्नबहादुर गुरुङ र उहाँकी धर्मपत्नी स्वर्गीय दिलमाया गुरुङको नाममा नामाकरण गरिएको ‘दिल–रत्न गुरुङ मार्ग’ को उद्घाटन गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २८ बागबजार स्थित गुरुङ टोलसमेत भनेर चिनिने स्थानमा रहेको दिल–रत्न गुरुङ मार्गको आइतबार एक समारोहकाबीच उद्घाटन गरिएको हो ।

बागमती प्रदेस सभा सदस्य हरिप्रभा खड्गी र स्वर्गीय रत्नबहादुर गुरुङकी भान्जी राजकुमारी गुरुङले संयुक्त रुपमा ‘दिल–रत्न गुरुङ मार्ग’ को उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी, बाग बजार सरोकार समितिका सचिव सुनिल बैद्य र सुसन बैद्यको उपस्थिति थियो । ‘दिल–रत्न गुरुङ मार्ग’ को उद्घाटनको अवसरमा तमू बौद्ध सेवा समिति काठमाडौं, सोंपाल तमू समाज, काठमाडौं, चारभञ्ज्याङ तमू समाज काठमाडौंका अध्यक्ष र पदाधिकारीसहित सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बागमती प्रदेस सभा सदस्य हरिप्रभा खड्गीले पूर्वप्रशासक स्वर्गीय रत्नबहादुर गुरुङ र स्वर्गीय दिलमाया गुरुङको सम्झनामा उहाँहरुका छोरा, छोरीहरुले उदाहरणीय कार्य गरेको भन्दै दिल–रत्न गुरुङ मार्ग उद्घाटन कार्यक्रमको प्रशंसा गर्नुभयो ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीले स्वर्गीय गुरुङ दम्पत्तीले श्याल दौडने काठमाडौंको बागबजार क्षेत्रलाई गुल्जार बनाएको स्मरण गर्दै अहिले उहाँहरुका सन्ततीहरुले गरेको कामको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । त्यसैगरी बागबजार सरोकार समितिका सचिव सुनिल बैद्य र सुसन बैद्यले पनि गुरुङ दम्पत्तिको स्मरण गर्दै उहाँहरुको ईतिहास जोगाउने कार्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा स्वर्गीय रत्नबहादुर गुरुङ र दिलमाया गुरुङका कान्छा ज्वाईं ईन्जिनीयर नारायणबहादुर गुरुङले आफ्ना सासु र ससुराको स्मरण गर्दै पुर्खाको किर्ती र गौरव जोगाउने काममा सघाएको विचार व्यक्त गर्नुभयो । त्यसक्रममा कान्छी छोरी ममता गुरुङ र माइली छोरी कमला गुरुङले आफ्ना स्वर्गीय माता, पिताको स्मरण गर्दै उहाँहरुको योगदानको चर्चा गर्नुभयो ।

गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ५ दरौं गाउँमा विक्रम सम्वत १९८२ बैशाख २५ गते रत्नबहादुर गुरुङको जन्म भएको थियो । अहिले लोकप्रिय प्रशासकका रुपमा चर्चित रत्नबहादुर गुरुङ २००७ सालमा राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो । तत्कालिन मुक्तिसेनाले स्याङ्जा जिल्ला कब्जा गरेपछि गठित स्थानीय सरकारको गृहसहायक मन्त्री नियुक्त हुनु भयो । राणा शासनको अन्त्य भइ २००७ साल फागुन ७ गते केन्द्रीय सरकार अर्थात मन्त्रिपरिषद गठन भएपछि स्याङ्जा जिल्ला अदालतको माइला बिचारीमा नियुक्त हुनुभयो । स्वर्गीय गुरुङ २०१७ फागुन ३ गते राजा महेन्द्रबाट प्युँठान गौंडाको बडाहाकिम नियुक्त हुनुभयो ।

त्यस्तै २०२१ सालमा धनकुटा गौंडाको बडाहाकिम बन्नुभयो । २०२२ सालमा बडाहाकिमको पद खारेज भएलगत्तै लुम्बिनी अञ्चलको सहायक अञ्चलाधीश नियुक्त हुनुभयो । त्यसैगरी सेती अञ्चलको अञ्चलाधीशको कार्यभार पुरा गरी विक्रम सम्वत २०४३ सालमा ३२ वर्षे सेवा पुरा गरी अवकाश प्राप्त गर्नुभयो । विक्रम सम्वत २०३४ सालमा काठमाडौंको बागबजारमा बसोबास सुरु गुर्नुभएका पूर्वप्रशासक रत्नबहादुर गुरुङको ८२ वर्षको उमेरमा २०६४ असोजमा आफ्नै निवासमा स्वर्गारोहण भएको थियो । पूर्वप्रशासक स्वर्गीय रत्नबहादुर गुरुङकी धर्मपत्नी स्वर्गीय दिलमाया गुरुङको साउन ४ गते सोमबार पर्ने जन्मजयन्तीको सन्दर्भमा अघिल्लो दिन आइतबार दिल–रत्न गुरुङ मार्गको उद्घाटन गरिएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २८ वडा कार्यालयबाट गत असार ८ गते सोमबार दिल–रत्न गुरुङ मार्ग नामाकरणको स्वीकृति प्राप्त भएको थियो । बाटो कायम गर्न गुरुङ परिवारले तीन आना निजी जग्गा प्रदान गरेका हुन ।

प्रकाशित मिति :श्रावण ४, २०८३ सोमवार - १०:३१:०६ बजे
images

छ्याजालो न्युज

ताजा अपडेट
धेरै पढिएको